Skip to main content

Posts

मृतशोकमा छन् सीपी गजुरेल

पुष १६ एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल अहिले मातृशोक परेको छ । गजुरेलकी आमा ८६ वर्षीया टेककुमारीको उपचारका क्रममा गएराति राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो । दम तथा मुटुको रोगबाट ग्रसित टेककुमारीलाई तीन दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सिन्धुली जिल्ला स्थायी घर भएकी टेककुमारीका कान्छा छोरा मेघनाथ गजुरेलसँग बानेश्वरमा बस्दै आउनुभएको थियो । यसैबीच टेककुमारीको शनिबार बिहानै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टेककुमारीप्रति अन्तिम श्रद्धाञ्जली दिन माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता आर्यघाट पुगेका थिए ।

ल्होछारको अवसरमा व्यापार प्रबर्धन मेला हुने

पुष १५ सिन्धुली जिल्लाको पश्चिममा अवस्थित महेन्द्रझ्याँडी गाविस-४, हाक्पारामा आउँदो माघ १४ देखि १८ गतेसम्म पाँच दिने स्थानीय व्यापार प्रवर्धन मेला हुने  भएको छ । स्थानीयबासीको पहलमा बि.सं. २०६१ साल वैशाखदेखि प्रत्येक शनिबार उक्त ठाउँमा लाग्दै आएको हाट बजारलाई विकास तथा व्यबस्थापन गर्ने मूख्य उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलालाई सफल बनाउन स्थानीय जनकल्याण सामुदायिक संस्थाका अध्यक्ष तथा डेन्साङ प्राथामिक विध्यालयका प्रधानाध्यापक निर बहादुर मोक्तानको संयोजकत्वमा बन्दिपुर, बिकास, ज्योती र जनकल्याण सामुदायिक संस्थाका सबै सदस्यहरु रहेको १ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी गाविस तथा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मेला सल्लाहकार समिति तथा विभिन्न उपसमितिहरु बनाई कार्य अगाडि बढाईएको मेला मूल आयोजक समितिका संयोजक मोक्तानले जानकारी दिनुभएको छ ।

धिमें, समयबजी र नेवाः सुन्दरी

पुष १४ व्यस्त ठमेल चोकैको मेट्रो काठमान्डु रेस्टुरेस्ट उक्लिँदै गर्दा जिन्स पाइन्ट र कालो पृष्ठभूमिमा रातो धर्के टिसर्ट लाएका एक हुल नेवार सुन्दरीले एकसाथ लयात्मक स्वर निकाले- 'ज्वज्वलपा ।' काठको सिँडीदार भर्‍याङ उक्लेर रेस्टुरेन्ट भित्री हल पुग्दा केही सुन्दरीहरू पि्र-जजका लागि भिडिरहेका देखिए । मिस नेवाः-२०११ को अन्तिम प्रतिस्पर्धामा उत्रिरहेका उनीहरूलाई आफ्नो मौलिक कला, संस्कृति र खानपानबारे प्रश्न गर्दै थिए- गायक निर्णय श्रेष्ठ, भाइराजा तुलाधर, राजभाइ सुवाल, सर्जुबाबा श्रेष्ठ, आरके मानन्धर, आकाशा बज्राचार्य लगायतका निर्णायक टोली । 'मलाई जे आउँछ त्यही भनिदिएँ,' हलभित्रबाट निस्कन साथ १७ वर्षीया सेविका महर्जनले हतारहतार साथीहरूलाई पि्र-जज राउन्ड फेस गर्दाको अनुभव सुनाइन्, 'किन नर्भस हुनु बेकारमा ?'

नायक राजेश हमाल अब सम्पादक

पुष १४ अंग्रेजीमा स्नातककोत्तर गरेका नेपाली सिनेमा क्षेत्रकै चर्चित नायक राजेश हमाल अब पत्रकार बन्ने भएका छन् । उनी, कुनै चलचित्रमा पत्रकारको भुमिकामा देखिन लागेको नभई वास्तवमै पत्रकार नै बन्न लागेका हुन् । उनलाई एक दैनिक राष्ट्रिय पत्रिकाले यो प्रस्ताव गरेको हो । यसमा हमालले स्वीकृती पनि जनाईसकेका छन् । नायक हमालले अब समाचार पत्रिकामा पढ्ने मात्र छैनन् । यसको सम्पादन समेत गरेर कुन छाप्ने र कुन नछाप्ने भनि छुट्टाउने समेत अधिकार पाएका छन् । यसका लागि हमाललाई कान्तिपुर पव्लिकेशनले अंग्रेजी राष्ट्रिय दैनिक द काठमाण्डु पोष्टमा सम्पादकको जिम्मेवारी दिने भएको हो ।  काठमाण्डु पोष्टले शुरुवात गर्न लागेको सेलिब्रेटी सम्पादक अन्तर्गत हमाल फेब्रुअरी महिनाका लागि यो पत्रिकाको सम्पादक बन्नेछन् ।

संगालो मोबाइलमा पनि

पुस १२  नेपाली सामाजिक वेबसाइट 'संगालो डट कम' मोबाइल भर्सनमा पनि हेर्न सकिने भएको छ । प्रिन्स्टन मिडियाले सोमबार वेबसाइटको मोबाइल भर्सन सार्वजनिक गर्‍यो । संगालोको मोबाई भर्सन आइफोन, एन्ड्रोइड लगायत जुनसुकै फोनहरुमा पनि प्रयोग गर्न सकिने प्रमुख कार्यकारी निर्देशक सुलोचना कर्माचार्यले बताइन् । उनका अनुसार मोबाइलको बढ्दो प्रयोग र उपयोगितासागै प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई ध्यानमा राखेर मोबाईल भर्सन सार्वजनिक गरिएको जानकारी दिइन् । मोबाईल भर्सनमा पनि प्रयोगकर्ताले आफ्नो स्टाटस परिवर्तन गर्न, फोटो अपलोड गर्न तथा हेर्न, व्यक्तिगत इमेल हेर्न/पठाउन, समूह बनाउन, प्रतिक्रयाहरु हेर्ने लगायतसुविधाहरु प्र्रयोग गर्न सक्नेछन् ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।

तीन महिने कोर्सलाई +२ सरह मान्यता

पुस ११,  उच्च माध्यमिक शिक्षा परिषद्ले भारतमा सञ्चालित तीन महिने कोर्सलाई प्लस टुसरह मान्यता दिने विवादास्पद निर्णय गरेको छ । परिषद्ले नयाँदिल्लीस्थित 'राष्ट्रिय मुक्त विद्यालयीय शिक्षा संस्थान' (एनआईओसी) सँगको समकक्षता गत साउन २० गते स्थगन गरेकामा भारतीय दूतावास र शिक्षा मन्त्रालयका केहीको दबाबमा फुकुवा गरेको हो । फुकुवापछि एनआईओसीबाट ३ महिना, ६ महिना वा एक वर्ष मात्र पढेकाहरूले पनि परिषद्बाट १२ कक्षा उत्तीर्ण गरेसरह मान्यता पाउने भएका छन् । स्रोतका अनुसार समकक्षता फुकुवा गर्न भारतीय दूतावासले दबाब दिएको थियो । दूतावासले परराष्ट्रमार्फत शिक्षा मन्त्रालयलाई पत्र पठाउँदै भनेको थियो, '२०६१ देखि पाउँदै आएको समकक्षता स्थगनले उक्त संस्थामा अध्ययनरत हजारौं विद्यार्थीलाई मर्का पर्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।'