Skip to main content

सिन्धुली दुर्घटनाको पाठ

कार्तिक १ ,

माथि बायाँ छेउमा तपाईँले देख्नुभएको दृश्य त्यही बिहीबारको अति पीडादायी दुर्घटनाको हो। त्यो माथिको टुप्पोबाट उलटपुलट हुँदै झण्डै सात सय मिटर तल सुनकोशी नदीको तिरमा बस बजारिएको थियो। त्यतिमाथिबाट खसेकोले बसको पाङ्ग्राबाहेक कुनै पनि भाग सग्लो थिएन। क्षतविक्षत भएको थियो बस। भित्र रहेका ४१ जनाको ज्यान गयो। छतमा बस्ने ११ जनाले हाम्फालेर ज्यान जोगाएछन्। अनि दायाँ छेउको फोटो तपाईँले याद गरेको हुनुपर्छ, चार महिनाअघि मात्रै माइसंसारले यही फोटो राखेर एउटा ब्लग लेखेको थियो। फोटोमा देखिएका सेतो पहिरनमा रहेका व्यक्ति त्यतिबेलाका सिन्धुलीका सीडीओ हुन्। सीडीओ जितेन्द्र भण्डारी। बीपी (बनेपा–सिन्धुली–बर्दिबास) राजमार्गमा त्यतिबेला सडक दुर्घटनामा २० जनाभन्दा बढीको ज्यान जाने गरी पटक पटक दुर्घटना भएका थिए। त्यसैले दुर्घटना कम गराउन र शान्ति सुरक्षा कायम गर्न शान्तिस्वस्ती, हवन र लघु रुद्री सञ्चालन गरी दिनभर हवन गरेर बसेका थिए उनी। 

धर्म र संस्कृतिको पालना गर्नुमा कसैको विमति छैन। मनको शान्तिका लागि हाम्रो जस्तो भाग्यवादीहरु रहेको देशमा यसले सकारात्मक प्रभाव पनि पार्ला। तर वस्तुवादी भएर समस्या समाधानको उपाय सँगै नअपनाए त्यो पाखण्डमात्रै साबित हुनपुग्छ। ल हेर्नुस् न, यसरी पूजापाठ मात्र नगरी त्यतिबेलै बन्दै नबनेको ट्रयाक मात्र खोलिएको अस्थायी बसमा यात्रुवाहक बस सञ्चालन गर्न रोक लगाएको भए आज यो दिन देख्नुपर्थ्यो ? दर्जनौँ परिवारको यसरी बिचल्ली हुन्थ्यो ? छ महिनाअघि त्यही ठाउँमा एउटा ठूलो दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। अरु पनि दुर्घटना त्यहाँ भइरहेका थिए। कारण त्यही- त्यो यात्रुवाहक बस कुदाउने बाटो नै थिएन। त्यो त बाटो बनाउनलाई सहयोग पुर्‍याउन खोलिएको ट्रयाक मात्र न हो। तर के गरे त यसरी बारम्बार दुर्घटना हुँदा सम्बन्धित पक्षले ? दुर्घटनालगत्तै सडक निर्माण आयोजनाले ‘ठूला सवारी नचलाउनू’ भनी सार्वजनिक सूचना निकाल्यो। ठूला यात्रुवाहक बस कुदाउनु जोखिमपूर्ण भएको’ भन्दै सचेत गरायो । यातायात विभागले त त्यो बाटोमा गाडी चलाउन अनुमति नै दिएको छैन । तर सिन्धुली यातायात व्यवसायी समितिका अध्यक्ष दिनेश बस्नेतले यातायात विभागले अनुमति नदिए पनि स्थानीय प्रशासनको स्वीकृति लिएर चलाएको बताउँछन्। स्थानीय प्रशासन अर्थात् सीडीओ। अनि सीडीओ चाहिँ दुर्घटना नहोस् भन्नलाई के गर्छन् ? ऊ त्यसरी हवन गर्दै बस्छन् ।

सरकार भनेको प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्ति मात्रै हैन। एउटा स्थायी संरचना पनि हो। यहाँ सरकारको उपस्थिति पटक्कै देखिएन । दिउँसो सवारी चलाउन समेत साँघुरो र यस्तो जोखिमपूर्ण बाटोमा घुर्मीदेखि दसैंअघि रात्रि बससमेत चलेको रहेछ । यातायात व्यवस्था विभागले रुट परमिट नै नदिएको यस राजमार्गमा अघिल्लो वर्ष पुषमा आ-आफ्नो समितिले मात्र बस चलाउन पाउनुपर्ने भन्दै बीपी राजमार्ग यातायात व्यवसायी समिति र हिमाल तराई यातायात समितिबीच कुटाकुट, चक्काजाम भएको रहेछ। हामीले तिरेको कर सरकारी कर्मचारीलाईे तलब खानमात्र हैन, सरकार नामको स‍ंस्थाबाट उचित विषयमा हस्तक्षेप होस् र हाम्रो पक्षमा काम गरिदिओस् भन्ने अपेक्षा पनि जोडिएको हुन्छ त्यसमा।

दुर्घटनाको पाठ


दुर्घटनामा बसभित्र रहेका ४१ को मृत्यु, छतमा बस्ने ११ जनाले हाम्फालेर ज्यान जोगाए। यस्तो समाचार पढेपछि यस्तो बाटोमा छतमा यात्रा गर्नेहरु पो सुरक्षित हुँदा रहेछन्, त्यसैले छतमा पो बस्नुपर्ने रहेछ- धन्न यस्तो उल्टो बुद्धि कसैको आएन। सिन्धुलीका वर्तमान सीडीओ बेनीमाधव ज्ञवालीले राजमार्गको ट्रयाकमात्र खोलिएको खण्ड नेपालथोक-खुर्क ोटमा गाडी चलाउन रोक लगाएपछि आइतबारदेखि त्यहाँ गाडी चलेको छैन। जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुसमेतको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेकाले यसको विरोध नहुने आशा गर्न सकिन्छ। आशा गर्न सकिन्छ कि छोटो बाटो बन्द गर्ने प्रशासन मूर्दाबाद भन्दै विरोधका आवाज त्यहाँ नसुनियुन्। गाडी चलाउन रोक लगाउनु एक अस्थायी समाधान मात्र हो । बसको ब्ल्याकबक्स पनि हुन्न, यसमा चढ्नेहरु धनी पनि हुन्न। त्यसैले होला एउटा छानबिन समितिसम्म बन्दैन आकाशमा उड्ने ‘चीलगाडी’ दुर्घटना हुँदा जस्तो। तर समाचार अनुसार गाडीमा मान्छे राख्ने विषयमा दुर्घटना भएको गाडीको चालक र कर्मचारीसँग झगडा भएको थियो र अर्को गाडीसँग । त्यही तनावमा बस चलाउँदा दुर्घटना भएको रे। क्षमताभन्दा बढी यात्रु राख्नु त समस्या भइ नै हाल्यो। यात्रु पनि यसमा दोषी त हुन् नै तर यात्रुलाई मात्र दोष दिन भने मिल्दैन। खै त सरकारी निकाय ? यसरी कानुनविपरीत काम गर्नेलाई तह लगाउन त चाहिएको हो नि सरकारी निकाय । यात्रुले पनि बुझ्नु पर्छ आफ्नो सुरक्षाको कुरा । अनि यस्तो कुरा पनि-

४१ जनाको मृत्यु भएको छ। तर बीमा रकम भने सिट क्षमता जति छ त्यतिले मात्र पाउँछन् अर्थात् यो दुर्घटनामा ३५ जनाले मात्र। अब कसले बीमा रकम पाउने भने अन्यौल उब्जिएको छ।

तत्काल उद्धार गर

घटनाको दिन निरन्तर समाचार अपडेटमा रहँदा महसूस गरेको थिएँ कति लाचार छौँ हामी। घटनाको तीन घण्टा नाघिसक्दा पनि यकिन विवरण आएको थिएन। काठमाडौँ नजिकै केही अघि बुद्ध एयरको विमान दुर्घटना हुँदा तत्काल हेलिकप्टर पुगेको थियो। त्यहाँ भने हेलिकप्टर पुर्‍याएर उद्धार गर्न आवश्यकै ठानिएन। तीन चार घण्टा लगाएर सडक कै बाटोबाट घाइतेहरुलाई धुलिखेल अस्पताल पुर्‍याइएको थियो। उपचारका लागि लग्ने क्रममा नै पनि केहीको मृत्यु भएको थियो। स्थानीय प्रशासनले सहयोग मागेन, त्यसैले हामीले हेलिकप्टर पठाएनौँ भने रे गृह अधिकारीले। यो त गैर जिम्मेवारीको हद भयो। केही ठूलो दुर्घटना हुँदा तत्काल हेलिकप्टर पठाई उद्धार गर्न लगाउनु पर्ने पाठ अब सिक्न जरुरी छ। हेलिकप्टर मन्त्री, नेताको भ्रमणका लागि र हुनेखानेहरुले चढ्ने विमान दुर्घटनाको उद्धारका लागि उपयोग गर्ने विषय हैन। ती बसमा गुड्नेहरु पनि हाम्रै दाजुभाइ हुन्। नेपाल कै नागरिक हुन्। उनीहरुलाई विभेद गर्न पाइन्न।

हरे, के बिजोग देख्नुपर्‍यो !



सिन्धुली दुर्घटनामा ४१ जनाको ज्यान मात्रै गएको छैन, कयौँ परिवारलाई कहिले नमेटिने शून्यता दिएको छ। अथाह पीडा दिएको छ। पूर्ति हुन नसक्ने क्षति गराएको छ। दुर्घटनामा परेको परिवारसँग जोडिएर आएका खबर निकै मार्मिक छन्। दुर्घटना भएकै दिन बस दुर्घटनाको खबर सुनेपछि लौ मेरा छोराबुहारी पनि त्यसैमा परे भन्ठानेर पीडाले ७० वर्षकी खारखोला बस्ने पद्ममाया देवकोटाले विष खाएर आत्महत्या गरेकी थिइन्। तर उनका छोराबुहारी त्यो दुर्घटनामा मरेका थिएनन्। टिकट नपाएर त्यो दिन उनीहरु सिन्धुलीमाढी मै बास बसेका थिए। टेलिभिजन, इन्टरनेट, मोबाइल फोन आदिले सूचना क्रान्ति गर्‍यो भनी हामी ठूल्ठूला गफ दिन्छौँ, बिचरी पद्ममायालाई त्यसको कुनै अर्थ थिएन। आफ्नो छोराबुहारी दुर्घटनामा पर्‍यो कि परेन भन्ने खबर थाहा पाउन नसकी आत्महत्या गर्न पुगिन्। आज फेरि अर्को त्यस्तै दुःखद समाचार सुन्नुपरेको छ। अन्नपूर्ण पोस्टका अनुसार सो दुर्घटनामा छोरा र नाति गुमाउनुको पीडा सहन नसकी रानीचुरी गाविसकी ५८ वर्षकी नन्दकुमारी श्रेष्ठले पनि आत्महत्या गरिन्। लोग्ने टंकबहादुर छोरा र नातिको किरियापुत्री बसेको बेला स्वास्नी नन्दकुमारीले विष खाइदिइन्। छोरा र नातिसँगै सन्तानविहीनताको पीडाले पोलेर केही देखिन होलिन् उनले। दुर्घटनासँग सम्बन्धित यो दोस्रो आत्महत्याको खबर हो। सिन्धुलीका आलोक दाहालले नागरिकमा पठाएको पाठक पत्रमा अर्को पीडा पोखिएको छ- मर्नेका आफन्तले आफ्नो परम्पराअनुसार दाहसंसकार गर्न आवश्यक दाउरासमेत नपाएर शव गाड्न बाध्य भए। सयौँ सामुदायसक वन समूहहरु, वन उपभोक्ता महासंघ र जिल्ला वन कार्यालउ त्यस दुःखको घडीमा कुन दुलोमा पसे, पत्तो भएन।
साभार : मेरो संसार 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide